Tuesday, February 16, 2016

नवयुगको सफलतामा रम्यो इलाम


खेलकुद

नवयुगको सफलतामा रम्यो इलाम



फाल्गुन ५, २०७२- राम्रो पढाइ र अनुशासित हुन सके जुनसुकै क्षेत्रमा पनि स्थापित हुन सकिन्छ भन्ने नेपालको फुटबलमा नयाँ आशा जगाएर चर्चामा रहेका नवयुग श्रेष्ठका बुवा चन्द्रकेशर र आमा बसुन्धरामा विश्वास थियो ।
पेसाले शिक्षक चन्द्रकेशर आफू पनि फुटबल खेलाडी भएकाले नवयुगलाई पढाइबाहेक फुटबलमा रमेको देख्दा उति चिन्तित भएनन् ।
गाउँमा हुने फुटबल प्रतियोगितामा देउमाई नगरपालिकामा जन्मे हुर्केका नवयुग श्रेष्ठ स्कुल छाडेरै पुगिहाल्थे ।
२०४७ मा जन्मिएका नवयुग पारिवारिक फुटबल माहोलका कारण पनि विद्यालय समयमै निकै खारिन पुगेका थिए । ‘खेल मोह राख्दा छोराछोरी बिग्रन्छन्’ भन्ने समाजमा नै हुर्किए पनि खेलकुद चेतना बोकेको नवयुगको परिवारले भने साथ दिएको थियो ।
व्यावसायिक फुटबलमा पाइला राखेयता उनले कतिपटक त कक्षा १२ को अंग्रेजी विषयको परीक्षासमेत दिन नभ्याएको चन्द्रकिशोर बताउँछन् । लामो समयको अन्तरमा नेपालले लगातार दुई फुटबल उपाधि जितेकोमा परिवार दंग छ । त्यसमा पनि छोराको उत्कृष्ट प्रदर्शन काँचको पर्दामा भए पनि छरछिमेकसँग बसेर नियाल्न पाउँदा उनीहरूको खुसीको सीमा छैन ।

बच्चामा प्लास्टिक तुन्दै सडकमा खेल्दा रक्ताम्य खुट्टा लिएर आएको सम्झँदै आमा बसुन्धरा अहिले उनको सफलता देख्दा हर्षका आँसुले आँखा भरिएको सुनाउँछिन् । सबैको मुखमा नवयुगको मात्र नाम उच्चारण हुँदा हजुरआमा पनि गदगद छिन् ।
फुटबल प्रेम र परिवारको सहयोगका कारण विद्यालयको टिममा उनी पहिलो रोजाइमा पर्थे । स्थानीय भानुभक्त उच्चमाविमा माध्यमिक तहको पढाइ पूरा गरेका नवयुग जिल्लाका फुटबल अगुवाको नजरमा १२ वर्षअघि नै परेका हुन् ।
कञ्चनपुरमा २०६० र ६१ मा सम्पन्न विद्यालयस्तरको जिविस कपमा नवयुगले सहभागिता जनाउने अवसर पाएका थिए ।
स्ट्राइकरको भूमिका पाएका नवयुगको टिमले दुवैतर्फ प्रथम स्थान हासिल गर्‍यो ।
 ‘उत्कृष्ट फुटबलर बन्न सक्ने सम्भावना उतिबेलै देखिएको हो,’ जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्गीले भने, ‘२०६६ तिर काठमाडौं गएपछि हिमालयन शेर्पामा आबद्ध रहेर उनले फुटबलमा भविष्य खोज्न थालेका हुन् ।’
मंगलबारेकै त्रिवेणी युथ क्लबमा आबद्ध श्रेष्ठले स्थानीय प्रतियोगितामा विजेता बनाउन योगदान गरेर थुप्रैपटक क्लबको साख जोगाएका थिए । ‘सानो भए पनि फुर्तिलो र गोल गर्न माहिर भएकाले हामीले हरेक प्रतियोगितामा छुटाउने गरेका थिएनौं,’ क्लबका विक्रम श्रेष्ठ सम्झन्छन् । हिमालयन शेर्पाबाट खेल्न थालेर क्षमता निखार्दै गएपछि आर्मीको नजरमा परेर उनले फुटबल करिअर बनाएका हुन् ।
यतिबेला जन्मथलो मंगलबारेसँगै सदरमुकाम र जिल्लाभर उनको सफलताको चर्चा चुलिएको छ । सदरमुकाममा मंगलबार जिल्ला फुटबल संघको अगुवाइमा भएको मोटरसाइकल र्‍यालीमा दर्जनौं सहभागी भए । भानुरत्न चोकबाट सुरु भएको र्‍यालीले बजार परिक्रमा गर्दै बिब्ल्याँटे बजारसम्मको यात्रा तय गरेको थियो ।
भर्खरै सम्पन्न माईभ्याली गोल्डकपको अवसरमा बंगबन्धु गोल्डकपमा उनले देखाएको खेल कौशलको सम्मान गर्दै फुटबल संघ र माईभ्याली फुटबल क्लबले नगद ९० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।



प्रकाशित: फाल्गुन ५, २०७२





No comments:

Post a Comment