आन्दोलन अवधिको टेलिफोन र बिजुलीको महसुल मिनाहा गर्न तमलोपाको माग
- आन्दोलनका लागि शक्ति संचय गर्ने
फाल्गुन ४, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले निर्णायक आन्दोलन गर्ने भन्दै त्यसको लागि शक्ति संचय गर्ने निर्णय गरेको छ ।
बाराको प्रसौनी गण्डकस्थित विश्रामस्थलमा सोमबार अबेर रातिसम्म बसेको बैठकले शक्ति संचय गर्ने निर्णय गरेको महामन्त्री जितेन्द्र सोनलले बताए ।
अध्यक्ष महन्थ ठाकुर, महामन्त्रीद्वय हृदेश त्रिपाठी र जितेन्द्र सोनललगायत अरु पदाधिकारी र बारा, पर्सा, रौतहट तथा सर्लाही चार जिल्लाका केन्द्रीय सदस्यहरु बैठकमा सहभागी थिए । राजनीतिक सचिवालयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै बैठकले राज्य अहिले पनि अनुदार भएकाले कठोर तथा कठिन आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको छ । यसैगरी बैठकले आन्दोलन समाप्त नभएको निर्णय गरेको छ ।
बैठकले राज्यबाट ६ महिनाको आन्दोलन अवधिभरिको टेलिकम, विद्युत र अन्य कर संकलक कार्यालयबाट बिलम्ब शुल्क लिइरहेको पाइएकोले हरजाना मिनाहा गर्न सरकारसित माग गरेको छ ।
पढाइ शुल्क, बैंकको ब्याज र हरजाना मिनाहा र आन्दोलनमा भएका घाइतेहरुको उपचारको व्यवस्थासमेत हुनुपर्ने बैठकले माग गर्दै सरकारले मोर्चासित आन्दोलनसँगैको वार्ता क्रममा गरेको वाचा कार्यान्वय गर्न माग गरेको महामन्त्री सोनलले बताए ।
अध्यक्ष ठाकुरले मंगलबार आन्दोलनको क्रममा मारिएका कलैया १० का हिफाजत मियाँको परिवारसित भेट्दै सरकारविरुद्ध मुद्दा लडने बताएका छन् ।
प्रकाशित: फाल्गुन ४, २०७२
No comments:
Post a Comment