Tuesday, February 16, 2016

रंगमञ्चमा आफ्नै कथा


साहित्य/विविध

रंगमञ्चमा आफ्नै कथा



फाल्गुन ५, २०७२- पाइप काटेर बनाइएको पाङ्ग्रा । अलिक लट्ठी र हातको बलमा पाङ्ग्रा गुडै छ । हर्नको काम त मुखैले– टिटिट... । मञ्चमा एकै छिन देखिएको यो दृश्यले दर्शक आफ्नो बाल्यकालमा पुग्छन् ।
सानु छँदा साथीभाइसँग गरेका तिता र केही मिठा क्षणको नोस्टाल्जिया । यति बेला अभिनेता खगेन्द्र लामिछानेले आफ्नो बाल्यकालको सम्झना नाटकमा प्रस्तुत गरेर दर्शकहरूको मन जित्ने प्रयास गरेका छन् ।
फिल्म ‘पशुपति प्रसाद’ मार्फत् नेपाली अग्र्यानिक कथामा जोडदार अभिनय गरेको चर्चा भइरहेकै बेला उनी रंगमञ्चमा फर्केका हुन् । लाजिम्पाट उत्तरढोकास्थित थिएटर भिलेजमा नियमित मञ्चन भइरहेको नाटक ‘दाँतका डोब’ मा खगेन्द्रले आफ्नै बाल्यकालको कथा प्रस्तुत गरेका छन् ।
कुनै बेला शत्रु बनेको साथीसँग मित्रता झल्काउन खोज्नु नाटकको सबैभन्दा प्रभावशाली पक्ष हो । लेखन र निर्देशन दुवै खगेन्द्रले नै गरेका हुन् ।
हालसम्म उनले पाँच नाटकको लेखन–निर्देशन गरिसकेका छन् । उनका अनुसार नाटक निर्देशन गर्नु आफूभित्रको मनोभाव पोख्नु हो । जति बेला उनी बोलेर कुनै कुरा सुनाउन सक्दैनन्, त्यस्तो अवस्थामा पूर्ण दृश्यसहित भाव पस्किने माध्यमका रूपमा नाटकलाई लिने गर्छन् ।
‘भन्नै नसकेका कुरा नाटकमा देखाउँछु,’ उनले भने, ‘तर, म आफूलाई निर्देशकभन्दा लेखकमै सीमित राख्न चाहन्छु ।’
नाटकमा खगेन्द्रले लोकनाथ र हरिप्रसाद नामक पात्रलाई उभ्याएर बाल्यकालको कथा भनेका छन् । कथाको पात्र अर्थात् खगेन्द्रका साथीले अहिले संसार त्यागिसकेका छन् । तर, अझै पनि खगेन्द्रको मनमा ती साथीको छाप बाँकी छ । कतिपय सम्बन्ध सायद जति पुरानो हुन्छ उति नै मिठो हुन्छ ।
खगेन्द्रले नाटकमा दलित समुदायका तिनै साथी र आफ्नो बाल्यकालको इतिवृत्तान्त खोतलेका छन् । सानैमा खगेन्द्र कस्ता थिए ? उनको स्वभाव नाटक हेरेपछि सजिलै अनुमान लगाउन सकिन्छ । उटपटयाङ गर्ने, घमन्डी र झगडालु स्वभावका लोकनाथ खासमा बाल्यकालका खगेन्द्र हुन् । ‘लोकनाथ पात्र म नै हुँ’ उनले भने ।
धेरै पहिलेदेखि नै यो नाटक मञ्चन गर्ने सोच बनाएका खगेन्द्रले अहिले बल्ल समय पाएका हुन् । करिब एक घण्टा लामो नाटकमा बालसुलभ सम्बन्धको लोभलाग्दो प्रस्तुति हेर्न सकिन्छ । यो सँगै पश्चिम नेपालको दलित समुदाय, तिनीहरूको न्युन आर्थिक अवस्था र कामको लागि भारत पलायन हुनुपर्दाको विवशतालाई नाटकले देखाएको छ।
दलित समुदायको हरिप्रसाद जो लोकनाथसँग सानैमा ठुलो झगडा भएको थियो, उनी कामको खोजीमा भारत पलायन भएपछि लोकनाथमा विस्तारै सँगै खेल्ने र झगडा गर्ने साथीको अभाव खडकन्छ ।

टुकि आर्टसो प्रस्तुति रहेको नाटकमा अनोज पाण्डे, प्रकाश दाहाल, विनीता थापा मगर, राजेश सिटौला, कमल देवकोटा, शिशिर शिवाकोटी, रोहित पौडेल, रेनुका कार्की, दीपिका ढकाल, सुनु राई लगायतले मनछुने अभिनय गरेका छन् । एउटै सेटमा धेरै प्रप्स प्रयोग नगरी विभिन्न दृश्य देखाउन सक्नु नाटकको अर्को सबल पक्ष हो । नाटकभित्रै पात्रले कथा वाचन गर्ने शैलीलाई पनि दर्शकले मन पराउँछन् ।



प्रकाशित: फाल्गुन ५, २०७२

No comments:

Post a Comment