Tuesday, February 16, 2016

प्रकाशको घरमा खुसियाली


खेलकुद

प्रकाशको घरमा खुसियाली


फाल्गुन ५, २०७२- यति बेला पटनाली गाउँमा हर्षोल्लास छाएको छ । त्यसमा पनि सबैभन्दा बढी खुसी ५७ वर्षीय कमलबहादुर बुढाथोकी र ५२ वर्षीया सुशीला बुढाथोकी देखिन्छन् । उनीहरूको अनुहारमै चमक थपिएको छ । यो खुसी गाउँघरको कुनै उत्सवले नभई सोमबार साग फुटबलमा नेपालले स्वर्णपदक जित्दा उनीहरूका छोरा प्रकाशको उत्कृष्ट प्रदर्शनले दिलाएको हो ।
प्रकाशको उत्कृष्ट फ्री–किकमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको थियो । उनको घरमा मंगलबार छिमेकीहरू बधाई दिँदै थिए । बराहक्षेत्र जाने बाटोछेउमा ज्वालामुखी मावि नजिकै रहेको प्रकाशको घर शुभचिन्तकहरूले भरिभराउ देखिन्थ्यो ।
छोराको प्रगतिबारे सुशीलाले भनिन्, ‘सुरुमा फुटबल खेलेरै भविष्य बिगार्ने भयो, नपढ्ने भयो भनेर औधी चिन्ता लागेको थियो । फुटबलमा सानैदेखि रुचि भएकाले हामीले पनि त्यति कराउने गरेका थिएनौं । नसोचेको इतिहास बनायो । खुसीको कुनै सीमा छैन ।’
ऐलानी जग्गामा विगत १८ वर्षदेखि बस्दै आएका कमलले थपे, ‘चार छोराछोरीमध्ये एक्लो छोराले उच्च शिक्षा पढेर जागिर नखाए पनि साग खेलमा देशको नाम राख्यो । इतिहास बनायो । हामी सबैलाई खुसी तुल्यायो । यो भन्दा खुसी अरू के हुन सक्छ ?’
छोराले भारत विरुद्धको खेलमा फ्री–किक प्रहार गरेर गोल गरेको दृश्य टेलिभिजनमा हेरेकी सुशीलाले भनिन्, ‘अचम्मै तरिकाले गोल गर्‍यो । त्यो गोल छोराले गर्छ जस्तो लागेको थियो । नभन्दै भारतको किपरले समेत थाहै नपाई गोल गर्दा खुसीले एक छिन त केही सोच्नै सकिनँ ।’
सुशीलाको भनाइमाथि नेपाल आर्मीका पूर्वसैनिक कमलबहादुरले थपे, ‘भारतले पेनाल्टी पाएर पहिलो गोल गर्दा छरछिमेकीसहित बसेर टेलिभिजन हेरिरहेका बेला हामी निकै हतास भएका थियौं । लु खत्तम भयो भन्दै टीभीमा खेल हेरिरहेका थियौं । तर अन्त्यमा नेपाललाई साग फुटबलको च्याम्पियन बनाउन प्रकाशले गोल गरेपछि गर्वले छाती ढक्क फुल्यो । त्यसपछि त प्रकाशका बाबुआमा पटनालीमा बस्छन् भन्दै चिनेजानेका र आफन्तहरू घरमै आउन थाले । बधाईको त ओइरो आउन थाल्यो ।’
फ्रेन्ड्स क्लब हुँदै प्रकाश अहिले थ्री–स्टारबाट खेल्दै आएका छन् । उनको सानैदेखिको खेल हेर्दै आएका छिमेकी गणेश राई र कमला राईले एकस्वरले भने, ‘प्रकाशले वास्तवमा उसका आमाबाबा र हामी छिमेकीलाई मात्र आज खुसी दिएका छैनन् । सारा नेपालीलाई गौरव गर्न लायक इतिहास बनाएका छन् । त्यसैमा हामी हर्षोल्लास मनाइरहेका छौं ।’


प्रकाशित: फाल्गुन ५, २०७२

No comments:

Post a Comment