Tuesday, February 16, 2016

४९० नयाँ प्रहरी एकाइको माग


समाचार

                 ४९० नयाँ प्रहरी एकाइको माग


फाल्गुन ५, २०७२- ७५ वटै जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयसित ४ सय ९० वटा नयाँ प्रहरी एकाइको माग गरेका छन् । जिल्लाको भौगोलिक स्थिति र बढ्दो जनसंख्याको चापलाई मध्यनजर गर्दै सुरक्षा समितिहरूले प्रहरी एकाइ थप्न माग गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार द्वन्द्वकालमा विस्थापितलाई पुन:स्थापनासहित नयाँ स्थानमा प्रहरी एकाइ थप गर्नुपर्ने माग बढेको छ । ‘केही स्थानमा त थप्नैपर्छ, अध्ययन गरेर मात्र टुंगोमा पुगिन्छ,’ स्रोतले भन्यो, ‘माग एकदमै बढेको छ ।’
पूर्व क्षेत्रमा १ सय २१, मध्य क्षेत्रमा १ सय, पश्चिम क्षेत्रमा ६६, मध्यपश्चिम क्षेत्रमा ७२ र सुदूरपश्चिममा ४९ वटा नयाँ एकाइको माग आएको छ । यस्तै, पूर्व क्षेत्रमा २३, मध्य क्षेत्रमा १०, पश्चिम क्षेत्र ९, मध्य क्षेत्र ३ र सुदूरपश्चिममा ३ वटा नयाँ इलाका प्रहरी कार्यालयको पनि माग गरिएको छ । खोटाङमा मात्र २१ वटा नयाँ प्रहरी एकाइ माग गरिएको छ ।
जनसंख्याको चाप, आपराधिक गतिविधि,स भौगोलिक स्थिति र एक एकाइदेखि अर्को एकाइसम्मको दूरीका आधारमा नयाँ एकाइ थप्ने मापदण्ड सरकारले तोकेको छ । अध्ययन नगरी एकाइ थप गरे राज्यलाई ठूलो आर्थिक भार पर्ने मन्त्रालयको दाबी छ । थप एकाइ सिर्जना गर्दा असईदेखि जवानसम्म ४ हजार ९ सय नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने हुन्छ ।
प्रत्येक एकाइमा कम्तीमा १० दरबन्दी आवश्यक पर्छ । एक प्रहरीका लागि तलब भत्ता, कपडा, खाद्यान्नलगायतमा वर्ष दिनका लागि झन्डै ३ लाख रुपैयाँ छुट्याउनुपर्ने हुन्छ । गृह प्रवक्ता यादव कोइरालाले माग भएका क्षेत्रको सम्भाव्यता अध्ययन नगरी एकाइ थप नगरिने बताए । ‘आर्थिक, सामाजिक, भौगोलिक क्षेत्रको अध्ययन गरिन्छ,’ उनले भने, ‘अनिमात्र एकाइ थप्ने/नथप्ने कुराको निष्कर्षमा पुग्छौं ।’
प्रहरी दरबन्दी नबढेसम्म नयाँ चौकी थप गर्न निकै कठिनाइ हुने उनले बताए । ‘राज्यले आर्थिक भार वहन गर्न गाह्रो छ, अति आवश्यक भएका स्थानमा मात्र चौकी राखिन्छ,’ उनले भने ।
प्रहरी प्रवक्ता माधव जोशीले विभिन्न स्थानबाट नयाँ प्रहरी एकाइ माग आएको बताए । ‘माग आएको छ, त्यसबारे अध्ययन भइरहेको छ,’ उनले भने, ‘थप्ने/नथप्ने निर्णय सरकारको हो ।’ प्रहरी प्रधान कार्यालयका अनुसार द्वन्द्वकालमा मुलुकभर करिब १२ सय एकाइ प्रहरी कार्यालय विस्थापित भएकामा सबै पुन:स्थापित भइसकेका छन् ।

प्रकाशित: फाल्गुन ५, २०७२

No comments:

Post a Comment